नेपाल संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि संविधानत: तीन तहको शासन व्यवस्थाको प्रावधान रहेको छ। नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४/०९/०९ र २०७५/०९/२९ तथा बागमती प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७८/०५/२५ को निर्णय वमोजिम स्वीकृत भई लागु भएको स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुको संगठन संरचना अन्तर्गत बागमती प्रदेशका जिल्लाहरुमा संघ, प्रदेश र स्थानीय तहसंग समन्वय गर्दै तोकिए बमोजिम स्वास्थ्य सम्बन्धी गतिविधिहरु सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले प्रदेश तहको स्वास्थ्य कार्यालयको स्थापना भए‌को हो। बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा बागमती प्रदेशका १३ वटै जिल्लामा स्थापना भएको जनस्वास्थ्य कार्यालयहरु मध्यको एक जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोक हो। बागमती प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०८०/०९/०३ को निर्णय बमोजिम साबिकको संगठन संरचना र दरबन्दी तेरिज समेतको समसामयिक सुधार तथा शंसोधन गरि बागमती प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य कार्यालयहरुलाई जनस्वास्थ्य कार्यालय नामकरण गरे सँगै यस कार्यालयको नाम जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोक रहेको छ । प्रदेशमा आधुनिक चिकित्सा, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मार्फत प्रबर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थापनात्मक सेवाका साथै स्वस्थ जीवनशैली परिवर्तनका लागि स्वास्थ्य सेवा प्रवाह हुँदै आइरहेको छ। स्वास्थ्य सेवालाई नियमित रुपमा प्रवाह गर्नका लागि प्रदेश सरकार मातहतमा जिल्लामा जनस्वास्थ्य कार्यालय, जिल्लास्तरिय अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरू सञ्चालनमा रहेका छन्। त्यस्तै जनस्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय सरकार मातहतमा आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, गाउँघर क्लिनिक, खोप क्लिनिकहरु सञ्जालनमा रहेका छन् । जनस्वास्थ्य कार्यालय विशेषतः स्वास्थ्य निर्देशनालय मातहत कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसँग समन्वय, सहजीकरण, सहयोग एवं तोकिए बमोजिम प्रदेशको निर्देशानुसार कार्यसम्पादन गर्ने निकायको रुपमा रहेको छ ।